आज माघे संक्रान्ति पर्व, थारु समुदायमा माघीको रौनक

Posted by Unknown on Wednesday, January 14, 2015 | 0 comments


माघ १ । 
आज माघे संक्रान्ति पर्व । मुलुकभर नदी, दोभान तथा त्रिवेणीहरुमा स्नान र मन्दिरमा पूजापाठ गर्नुका साथै रमाइलो गरी मनाइँदैछ । थारु समुदायले भने यो पर्वलाई ‘माघी’ पर्वका रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । आजको दिन थारु समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ । यस्तै, यो पर्वलाई नेवार, मगरलगायतका अन्य समुदायले पनि विशेष रुपमा मनाउने गर्छन् । ज्योतिषशास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धुन राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ । आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास छ । लड्डु तथा घिउ–चाकु संक्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा ‘घ्यो–चाकु सँल्हुँ’ भनिन्छ । यस पर्वमा प्रसिद्ध देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गंगासागरलगायतका नदी तथा त्रिवेणीमा मकर स्नान, दान, श्राद्धलगायतका कार्य गर्नेको ठूलो भीड लाग्ने गर्छ । यसैबीच, माघी पर्वको अवसरमा राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति यादवले सबै जातजातिका संस्कृतिलाई बचाएर मुलुकको राष्ट्रिय एकतालाई कायम राख्न चाडपर्वहरुले उर्जा प्रदान गर्ने भन्दै शुभकामना दिएका छन् ।

0 comments for "आज माघे संक्रान्ति पर्व, थारु समुदायमा माघीको रौनक "

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor