डिभिजन वानको सिँढी चढ्न तयार छौं : पारस खड्का

Posted by Unknown on Wednesday, January 14, 2015 | 0 comments


३० पुस, काठमाडौं । 
नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले आफूहरु डिभिजन वानको सिँढी चढ्न तयार रहेको बताएका छन् । दक्षिण अफ्रिकामा तीन अभ्यास खेल खेलेर नेपाली टोली आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूका लागि नामिबिया पुग्दैछ । डिभिजन टू अघि आईसीसी-क्रिकेटसँग कुरा गर्दै नेपाली कप्तान पारसले भनेका छन्-‘हामी सबैले कडा मेहनत गरेका छौं र हामी सबैले उच्च प्रदर्शन गर्दै प्रतियोगिता जित्न चाहन्छौं ।’ क्षमता अनुसार खेल्न सक्नु पर्ने भन्दै उनले अघि भने-‘यो महत्वपूर्ण प्रतियोगिता हो र सबै राम्रो प्रदर्शनसँगै डिभिजनको सिँढी चढ्न का लागि तयार छौं ।’ सन् २०१४ नेपाली क्रिकेटका लागि सफल वर्ष रहृयो । पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले बंगलादेशमा हङकङ र अफगानिस्तानलाई पराजित गर्‍यो भने टेष्ट मान्यता प्राप्त बंगलादेशसँग सम्मानजनक प्रदर्शन गरेको थियो । नेपालले दुई महिनाअघि मलेसियामा सम्पन्न डिभिजन थ्रीको उपाधि समेत जितेको थियो । कप्तान पारसले नेपालमा क्रिकेटको क्रेज दश गुणा बढेको र अर्को उचाइमा पुगेको बताए । उनले भनेका छन्-‘हामीले यसलाई निरन्तरता दिनुपर्छ । हाम्रो ध्यान वर्ल्ड क्रिकेट च्याम्पियनसिप र इन्टरकन्टिनेन्टल कपमा पुग्ने हुनेछ ।’ डिभिजन टूमा नेपालले आयोजक नामिबियासँगै क्यानडा, केन्या, नेदरल्याण्ड र युगाण्डासँग खेल्नेछ । नेपालको पहिलो खेल माघ ३ (जनवरी १७) मा युगाण्डासँग हुनेछ । युगाण्डालाई नै हराएर नेपालले डिभिजन थ्रीको उपाधि जितेको थियो । नामिबियाका कप्तान निकोलास स्कोल्जले घरेलु समर्थकका अगाडि खेलेर आफ्नो देश र समर्थकलाई खुसी दिन चाहेको बताएका छन् । क्यानडाका कप्तान जिमी हान्ज्राले भने-हामीसँग क्षमतावान खेलाडीहरु छन् । हामी अफ्रिकामा हाम्रो प्रतिभा देखाउने छौं ।’

0 comments for "डिभिजन वानको सिँढी चढ्न तयार छौं : पारस खड्का"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor