शार्ली एब्डो ६० हजारबाट ८० लाख

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


पेरिस, माघ १ - फ्रान्सका पत्रिका पसलहरूमा बुधबार बिहानैदेखि सर्वसाधारणको लाम लागेको थियो । व्यंग्य पत्रिका शार्ली एब्डोले आतंकवादी आक्रमणमा प्रधान सम्पादकसहित १२ सहकर्मी गुमाएपछिको पहिलो अंक किन्न पाठकहरू अभूतपूर्व रूपमा झुम्मिएका थिए । जिज्ञासु पाठकको भीड उज्यालो नहुँदै उर्लिएको थियो । ३० लाख प्रति पत्रिका बिहान पसल र फुटपाथमा पुग्नेबित्तिकै बिक्री भयो । लगत्तै सम्पादक मण्डलले थप ५० लाख प्रति छाप्ने निर्णय गर्‍यो । त्यसपछि पत्रिका प्रकाशन गर्ने र बजारमा पठाउने काम भ्याइनभ्याई भएको छ । पत्रिका व्यवस्थापनका अनुसार अब १० लाख प्रतिका दरले ५ दिन बजारमा लगिनेछ । यो पत्रिका सातामा सरदर ६० हजार प्रति छापिँदै आएको थियो । 

'जीवित बचेकाको संस्करण' भनेर चिनिएको यो अंकको यति धेरै माग हुनुमा मानवीय कारणसमेत छ । बिक्रीबाट हुने लाभ आक्रमणमा परेका पीडितका परिवारलाई जाने छ । पत्रिकाको यो अंक अंग्रेजी, अरबी र टर्किसलगायत ६ भाषामा उपलब्ध छ । इस्लामिक बन्दुकधारीले उक्त पत्रिकाको कार्यालयमा आक्रमण गरी प्रधान सम्पादकसहित १२ जनाको हत्या गरेका थिए । यही प्रकरणमा अन्य स्थानमा थप ५ जनाको हत्या गरेका थिए । आफ्नो पुरानै शैलीलाई निरन्तरता दिँदै पत्रिकाको मुख्य पृष्ठमा पैगम्बर मुहम्मदको 'म शार्ली हुँ' भन्दै रोइरहेको कार्टुन छापिएको छ । 'सबैलाई माफ गर्‍यौं,' कभरपृष्ठमा छापिएको उक्त कार्टुनमा भनिएको छ । यसले पैग्ाम्बरको पनि मन दुःखेको होला भन्ने कार्टुनको आशय रहेको प्रकाशन पक्षले जनाएको छ । पत्रिकाको भित्री पृष्ठमा पैगम्बरको कार्टुन नभए पनि इस्लामिक अतिवादीहरूप्रति व्यंग्य गरिएको चित्रहरू टन्नै छन् । 'यो सांकेतिक अंक हो, यसले उनीहरूको प्रतिबद्धतालाई झल्काउँछ, उनीहरूले आतंकको अगाडि समर्पण गरेनन् भने प्रमाण हो,' पत्रिका किन्न लाम लागेकी पेरिसकी क्याथरिन बोनिफेस भनिन् । 

फ्रान्स बाहिर पनि ऐक्यबद्धता
अमेरिकी अखबार 'दि वासिङटन पोस्ट', जर्मनीको 'फ्र्यांकर्फतर अलजेमिन जेतुंग' (एफएजे), इटालीको 'कोरजेर डेला सेरा' र बेलायतको 'गार्डियन' लगायतले उक्त कार्टँन प्रस्तुत गरेका छन् । बीबीसीले होमपेजमै कार्टुनहरू प्रस्तुत गर्दै वक्तव्यमार्फत भनेको छ, 'ती चित्रहरू हाम्रो खबरको केन्द्रविन्दु भएकाले सम्पादकीय निर्णयअनुरूप देखाइएको हो ।' टर्कीको पत्रिका 'कम हुरियत' ले एब्डोको कभर पृष्ठको सानो तस्बिरसहित पूरा एक भाग प्रकाशन गरेको छ । उसले पूरै पत्रिका छाप्ने योजना बनाए पनि सुरक्षाका कारण पछि हटेको थियो । मध्यपूर्व र उत्तरी अपि|mकामा भने निकै कम च्यानलहरूले मात्र यो कार्टुन देखाए । गत ७ जनवरीको उक्त त्रासदीपूर्ण आक्रमणको विरोधमा फ्रान्सभित्र र बाहिर लाखौं नागरिक छातीमा 'म शार्ली हुँ' भन्ने प्लेकार्ड टाँसेर सडकमा उत्रिएका थिए । 

अल कायदाले जिम्मेवारी लियो
यसैबीच, यमनको अलकायदा (एक्यूएपी) द्वारा बुधबार जारी गरेको भनिएको एक नयाँ भिडियोमा उक्त पत्रिकामाथिको आक्रमणको जिम्मेवारी लिएको दाबी गरिएको छ । आक्रमणपछि फरार अवस्थामै मारिएका दुई बन्दुकधारी दाजुभाइ सयद र चेरिफ कोचीको तस्बिरलाई पृष्ठभूमिमा राखी बनाइएको उक्त भिडियोमा त्यस क्षेत्रका अलकायदा कमान्डर नासर बिन अली अल अन्सीले 'दुवै नायकले जिम्मा लिएको काम पूरा गरेको' बताइरहेका छन् । पैगम्बरको तर्फबाट प्रतिकार गर्न पत्रिकामाथि आक्रमणको योजना बनाएको र आर्थिक सहयोग उपलब्ध गराएको उनले बताएका छन् । अन्सीले एब्डो पत्रिकालाई मात्र नभएर फ्रान्स र अमेरिकामाथि समेत दोषारोपण गरेका छन् । अमेरिकामा जन्मेका मुस्लिम विद्वान् तथा धर्मगुरु अनवर अल अवाल्कीले मारिनुअघि सन् २०११ मै यसको योजना बनाएको भिडियोमा उल्लेख छ । उक्त भिडियोमा पेरिसकै कोसर ग्रोसर स्टोरमा शुक्रबार भएको आक्रमणको जिम्मेवारी नलिए पनि प्रशंसा गरिएको छ । अलकायदा समूहले यो दाबीलाई पुष्टि गर्न मद्दत मिल्ने खालको कुनै प्रमाण भने पेस गरेको छैन । 

पत्रिकामा छापिएको इस्लाम धर्मावलम्बीका ईश्वर मुहम्मदको कार्टुनले आक्रमणका लागि प्रेरित गरेको उनीहरूले यसअघि बताएका थिए । उक्त पत्रिकाले पुनः पैगम्बरको कार्टुन प्रकाशन गर्ने निर्णयपछि इस्लामिक लडाकुको बेबसाइटहरूमा धम्कीका स्वर गुन्जिन थालेका छन् । 'यो निकै मूर्खतापूर्ण कार्य भएको' इस्लामिक स्टेट -आईएस) लडाकु समूहले आफ्नो रेडियोमार्फत बताएको छ । यसबारे आईएस र अलकायदाको स्वर मिले पनि उनीहरू मध्यपूर्वी मुलुकमा एकअर्काका प्रतिद्वन्द्वी हुन् ।

फ्रान्सेली कमेडियन पक्राउ
यसैबीच आतंकवादको पक्षमा बोलेकोमा विवादमा परेका ४९ वर्षे फ्रान्सेली कमेडियन डिडोने म्बाला म्बालालाई बुधबार पेरिसबाट पक्राउ परेका छन् । त्यहाँको कोचर सुपरमार्केटको आक्रमणमा संलग्न अमेडी कुलीबालीको समर्थनमा उनले सोमबार फेसबुकमा एक पोस्ट गरेका थिए । त्यसपछि प्रहरीले उनीविरुद्ध अनुसन्धान थाल्यो । यस्तै खाले प्रतिक्रियाका लागि उनलाई यसअघि धेरै पटक जरिवाना गरिसकिएको छ । आतंकवादको उपेक्षा गर्ने ५० भन्दा बढी नागरिकविरुद्ध प्रहरीले बुधबार अनुसन्धान थालेको छ । आक्रमणपछि साम्प्रदायिक भावना राखेर मुस्लिमको प्रार्थनास्थलमा आक्रमण गर्ने र क्षति पुर्‍याउनेविरुद्ध २५ उजुरीको प्रहरीले छानबिन गरिरहेको छ ।

0 comments for "शार्ली एब्डो ६० हजारबाट ८० लाख"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor